लामो समयदेखि महसुल नतिर्ने उपभोक्ताबाट बक्यौता असुली अभियानलाई नेपाल खानेपानी संस्थान लहानले तीव्र बनाएको छ। संस्थानले घरदैलो कार्यक्रम सञ्चालन गर्नुका साथै बक्यौता नतिर्ने उपभोक्ताको खानेपानी धारा काट्ने कामलाई अघि बढाएको हो।
शाखा प्रमुख राकेश गोइतका अनुसार हालसम्म महसुल नबुझाउने १४० जना उपभोक्ताको धारा काटिएको छ । बक्यौता रकम भुक्तानी गरे लगत्तै पुनः धारा जडान गरिने व्यवस्था गरिएको उनले बताए । उनका अनुसार हाल रु ७१ लाख ८० हजार ३१६ बक्यौता रकम असुल हुन बाँकी छ।
बक्यौता नतिर्ने उपभोक्ताको विवरण सङ्कलन गरी कालोसूचीमा राख्ने तयारीसमेत भइरहेको प्रमुख गोइतले जानकारी दिए। उनका अनुसार लहान नगरपालिकाको मात्रै रु २६ लाख बक्यौता बाँकी छ ।
प्रतिक्रिया