नेपाल प्रेसका प्रधान सम्पादक मात्रिका पौडेल पुरस्कृत भएका छन् । प्रधान सम्पादक पौडेल ‘पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३’ बाट पुरस्कृत भएका हुन् ।
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवसका अवसरमा प्रेस चौतारी नेपाल रामेछापले स्थापना गरेको उक्त पुरस्कारबाट पौडेललाई सम्मान गरिएकाे हाे । सोही अवसरमा पुरस्कार कोष स्थापना गर्न सहयोग गर्ने समाजसेवी तथा नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य रत्न गौतमलाई पनि सम्मान गरिएको थियो ।
पुरस्कार ग्रहण गर्दै पौडेलले मुलुक जटिल राजनीतिक तथा सामाजिक परिस्थितिबाट गुज्रिरहेकाे बताउँदे यस्ताे बेलामा जिम्मेवार पत्रकारिताको आवश्यकता बढेकाे र नेपाली पत्रकारिता अहिले आत्म–नियन्त्रण (सेल्फ सेन्सरशिप) र विभिन्न प्रकारका अवरोधको सामना गरिरहेकाले उक्त चुनौतीलाई चिर्दै सत्य र तथ्यमा आधारित पत्रकारिता अघि बढ्ने विश्वास व्यक्त गरेका थिए ।
जिल्ला अध्यक्ष लेखबहादुर विकको अध्यक्षतामा भएकाे कार्यक्रममा केन्द्रीय महासचिव हिरामान लामाले पुष्पलाल राष्ट्रिय सीमामा मात्र सीमित नभई अन्तर्राष्ट्रिय व्यक्तित्व भएको बताउँदै पुष्पलालको विचार र योगदानलाई विश्वसामु चिनाउन सञ्चारमाध्यम र पत्रकारहरूको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गरेका थिए ।
प्रतिक्रिया