स्वास्थ्य क्षेत्रका विभिन्न मागसहित अनसन बसेका डा. गोविन्द केसीले सात बुँदे सहमतिसँगै अनसन ताेडेका छन् । बिहीवारदेखि धनगढीमा अनसनरत डा. केसीले सरकारसँगकाे सहमतिसँगै अनसन तोडेका हुन् ।
नेपाल सरकार र अनसनरत डा. केसीसँगकाे सहमति अनुसार, शहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय, गेटामा ३ सय शैयाकाे अस्पताल सञ्चालनका लागि तत्काल प्रक्रिया अघि बढाउने, गेटाको सभाबाट पारित भए बमोजिम एमबीबीएस लगायतका शैक्षिक कार्यक्रम सञ्चालनका लागि फ्याकल्टी, जनशक्तिको भर्ना, पाठ्यक्रमको स्वीकृति लगायतका शैक्षिक तयारी तुरुन्त पूरा गर्ने, विश्वविद्यालयले ३ सय शैयाको शिक्षण अस्पताल सञ्चालनका लागि आवश्यक जनशक्ति र उपकरण खरिद लगायतका अस्पताल सञ्चालन सम्बन्धी सम्पूर्ण व्यवस्था तत्कालगर्ने सहमतिमा भएको छ ।
त्यसैगरि विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन, २०८२ लाई समेत समेटी विश्वविद्यालयका पदाधिकारीको योग्यता र नियुक्ति लगायतका विषयमा संशोधन प्रक्रिया संघीय संसदको चालु अधिवेशनबाटै अगाडि बढाउन नेपाल सरकार समक्ष प्रस्ताव पेश गर्ने पनि सहमतिमा उल्लेख गरिएकाे छ ।
सहमति अनुसार नेपाल भित्र सञ्चालित चिकित्सासम्बन्धी शिक्षण संस्था क्रमश गैर नाफामूलक र सेवामूलक संस्थाका रुपमा रहनेछन् भन्ने प्रावधान कार्यान्वयन गर्ने सम्बन्धमा अध्ययन गरी ६ महिनाभित्र राय सुझावसहितको प्रतिवेदन पेश गर्न शिक्षा तथा खेलकुद मन्त्रालयले एक उच्चस्तीय कार्यदल गठन गर्न नेपाल सरकारसमक्ष प्रस्ताव पेश गर्ने उल्लेख गरिएकाे छ ।

प्रतिक्रिया