+
Search

ताजा अपडेट +

पपुलर +

वर्षा र बाढी पहिरकाेका कारण विभिन्न राजमार्ग तथा सडक खण्ड अवरुद्ध

शब्द-यात्रा
२०८३ साउन १३, बुधबार

देशकाे विभिन्न भागमा परेकाे अविरल वर्षाका कारण गएकाे बाढी र पहिराेले देशकाे विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडक खण्ड अवरुद्ध हुँदा सवारी आवागमन प्रभावित भएको छ । बाढी पहिराेका कारण केही सडक पूर्ण रूपमा अवरुद्ध भएका छन भने केही सडकमा राति सवारीसाधन सञ्चालनमा प्रतिबन्ध लगाइएको छ ।

नेपाल प्रहरीको सार्वजनिक विवरण अनुसार काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडक खण्डमा सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गरी साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । त्यसैगरी कान्तिलोकपथ साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

प्रहरीका अनुसार इलाम नगरपालिका–९, मेची राजमार्गमा वर्षाका कारण सडक हिलाम्मे भएपछि सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको छ । त्यस्तै सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित अरनिको राजमार्गका जिरोकिलो र कोदारी क्षेत्रमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

दोलखाको तामाकोसी गाउँपालिका–५, किर्नेटारस्थित लामासाँघु–रामेछाप सडक खण्डमा सामाकोशी खोलाको बहावले सडक कटान गरेपछि उक्त सडक पनि अवरुद्ध भएको छ । त्यस्तै रसुवाको उत्तरगया गाउँपालिका–५, खाल्टेस्थित पासाङ ल्हामु सडक खण्डमा त्रिशूली नदीले कटान गरेकाले उक्त सडक पनि पूर्ण रूपमा अवरुद्ध भएको छ ।

यता ललितपुरको बागमती गाउँपालिका–३, कान्तिलोकपथमा सुक्खा पहिरो खसेकाले उक्त सडक पनि पूर्ण रूपमा बन्द भएको छ । रोल्पाको परिवर्तन गाउँपालिका–१, घोराही–थवाङ शहीद राजमार्गमा आज बिहान सुक्खा पहिरो खस्दा सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध बनेको छ ।

त्यसैगरी लमजुङको मर्सयाङ्दी गाउँपालिका–४, बेँसीसहर–च्यामे–मनाङ सडक खण्ड पनि वर्षा र बाढी पहिराेका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ । प्रहरीले वर्षायाममा पहिरो, बाढी तथा सडक कटानको जोखिम उच्च रहेकाले यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडकको अवस्थाबारे जानकारी लिन तथा आवश्यक सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा