+
Search

ताजा अपडेट +

पपुलर +

संयमता अपनाउन प्रहरी महानिरीक्षक कार्कीकाे आग्रह

शब्द-यात्रा
२०८३ साउन १५, शुक्रबार

नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले धार्मिक सद्भाव, सामाजिक एकता र राष्ट्रिय भाइचारा कायम राख्दै संयमता अपनाउन सम्पूर्ण नेपालीलाई आग्रह गरेका छन् । आज जारी सन्देशमा प्रहरी महानिरीक्षक कार्कीले उक्त आग्रह गरेका हुन् ।

जारी सन्देशमा महानिरीक्षक कार्कीले नेपाल धर्म, भाषा, जातजाति र संस्कृतिको विविधता भए पनि आपसी सम्मान, सहिष्णुता र सद्भावका साथ अघि बढ्दै आएको मुलुक भएको उल्लेख गरेका छन् । विविधतामा एकता नै नेपालको पहिचान, गौरव र शक्ति भएको उनको भनाइ रहेकाे छ ।

महानिरीक्षक कार्कीले धर्म, संस्कार र संस्कृति फरक भए पनि मुलुक र साझा भावना एउटै भएकाले एकअर्काको संस्कृति, संस्कार र आस्थाको सम्मान गर्नुपर्नेमा जोड दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत अफवाह फैलाउने, उत्तेजक अभिव्यक्ति दिने तथा कानुनविपरीत गतिविधि गर्ने कार्य कसैको हितमा नहुने समेत उल्लेख गरेका छन् ।

महानिरीक्षक कार्कीले त्यस्ता गतिविधिले समाजमा तनाव, अविश्वास र विभाजन बढाउने भएकाले सबै नागरिकलाई जिम्मेवार र संयमित बन्न आग्रह गर्दै विशेषगरी पूर्वी तराईका केही स्थानमा धार्मिक सद्भावमा खलल पुग्ने तथा डर र त्रासको वातावरण सिर्जना गर्ने गतिविधि देखिएकोमा चिन्ता व्यक्त गरेका छन् ।

सबै नागरिकलाई संयमता, सहिष्णुता र आपसी सम्मानका साथ सामाजिक सद्भाव, राष्ट्रिय एकता र भाइचारा कायम राख्न सहयोग गर्न अपिल गर्दै यस संवेदनशील समयमा अफवाह, उत्तेजना र घृणाभन्दा विवेक, संयम र सद्भावको बाटो अवलम्बन गर्न महानिरीक्षक कार्कीले सबैमा आह्वान गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा