आज बिहान नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत नाम्सी नयाँ पुलमा माथिबाट ढुङ्गासहितको पहिरो खस्दा यातायात सेवा प्रभावित भएको छ । पहिरोका कारण सडकखण्डमा दुईतर्फी यातायात अवरुद्ध भएकाेमा अहिले पहिराे पन्छाएर एकतर्फी सडक सञ्चालनमा आएको छ ।
बिहान पहिराे खसे लगतै सडकमा खसेको पहिरो पन्छाउने काम सुरु गरिएको र अहिले एकतर्फी सडक खुलाएर यातयात सञ्चालन गरिएकाे जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अनिल थापाले जानकारी दिएका छन् ।
सडकमा थप ढुङ्गा झर्ने क्रम नरोकिएकाले पहिरो पूर्ण रूपमा पन्छाएर दुईतर्फी यातायात सुचारु गर्न केही समय लाग्ने निरीक्षक थापाले जनाएका छन् । वर्षायाम सुरु भएयता उक्त सडकखण्डमा पटक-पटक पहिरो खसेर उच्च जोखिममा पर्दै आएको छ ।
प्रहरीले यस मार्ग भएर यात्रा गर्ने सम्पूर्ण यात्रु तथा सवारी चालकहरूलाई उच्च सतर्कता अपनाउन र सावधानीपूर्वक यात्रा गर्न समेत आग्रह गरेको छ ।
प्रतिक्रिया