+
Search

ताजा अपडेट +

पपुलर +

चौंरीदेउरालीका ज्येष्ठ नागरिक तथा अशक्त व्यक्तिलाई उपत्यकामा घुम्ती सेवा

शब्द-यात्रा
२०८३ साउन १९, मंगलबार

काभ्रेपलाञ्चोक जिल्लाको चौंरीदेउराली गाउँपालिकाले काठमाडौँमा अस्थायी बसाेबास गर्ने ज्येष्ठ नागरिक तथा अशक्त व्यक्तिहरुलाई सहजता प्रदान गर्ने उदेश्यले हिजाे साउन १९ गतेदेखि साउन २३ गतेसम्म घुम्ती सेवा शुरु गरेको छ । घुम्ती सेवा मार्फत सामाजिक सुरक्षा परिचयपत्र नवीकरणसहित विभिन्न घुम्ती सेवा शुरु गरिएको हाे ।

गाउँपालिकाका अध्यक्ष तथा पूर्वसंविधानसभा सदस्य रेणुका चौँलागाईको विशेष पहल र वडाध्यक्षहरुको समन्वयमा सुरु भएको उक्त सेवाले विशेषगरी गाउँ फर्कन नसक्ने अवस्थामा रहेका ज्येष्ठ नागरिक तथा अशक्त व्यक्तिहरुलाई सहजता प्रदान गर्ने विश्वास गरिएको छ ।

गाउँपालिकाले उपत्यकामा बसोबास गर्दै आएका आफ्ना नागरिकलाई लक्षित गर्दै हिजाे साउन १८ गतेदेखि साउन २३ गतेसम्म काठमाडौँको पेप्सिकोलास्थित स्टार फुड एण्ड बैंक्वेटमा घुम्ती सेवा शुरु गरेको हो । घुम्ती सेवाकाे पहिलाे दिन साउन १८ र दाेश्राे दिन आज साउन १९ गाउँपालिकाकाे वडा नम्बर १,८,९ का नागरिकलाई सेवा दिइने छ ।

त्यसैगरि गाउँपालिकाकाे वडा नम्बर २,४,५ का लागि साउन २० र २१ गते तथा वडा नम्बर ३,६,७ का लागि साउन २२ र २३ गते घुम्ती सेवा मार्फत सुविधा दिने वडा नम्बर १ का वडा अध्यक्ष सुशिल लामाले जानकारी दिएका छन् ।

गाउँपालिकाको पञ्जिकरण शाखा तथा अन्य कर्मचारीहरूको सहभागितामा सञ्चालन भइरहेको यस सेवाबाट काठमाडौँ, भक्तपुर, ललितपुरलगायत काभ्रेकाे बनेपा र धुलिखेलमा बसोबास गरिरहेका चौरीदेउरालीका स्थायी बासिन्दा लाभान्वित हुने गाउँपालिका अध्यक्ष रेणुका चौँलागाईले बताएकी छन् ।

उक्त घुम्ती सेवा मार्फत सामाजिक सुरक्षा भत्ता नवीकरणदेखि नागरिकता सिफारिस, जन्मदर्ता, मृत्युदर्ता, सम्बन्धविच्छेद दर्तालगायत सेवा दिइनेछ । सेवा प्रत्येक दिन बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म उपलब्ध रहने र कामकाजी नागरिकले समेत सहज रूपमा सेवा लिन सक्ने अपेक्षा गरिएको छ ।

गाउँपालिका अध्यक्ष चौँलागाईले यो अभियानलाई नागरिकमैत्री सेवाको महत्वपूर्ण पहलका रूपमा उल्लेख गर्दै उनले भनिन, “हामी चौरीदेउराली गाउँपालिकाका बासिन्दाहरूको सेवामा निरन्तर प्रतिबद्ध छौँ । विशेषगरी ज्येष्ठ नागरिक र अशक्त व्यक्तिहरूलाई गाउँपालिका आउनुपर्ने बाध्यता अन्त्य गर्दै उहाँहरुको पहुँचमै सेवा पुर्यााउने प्रयास गरेका हौँ ।”

घुम्ती सेवाले काठमाडाैँ उपत्यकामा बसाेबास गरिरहेका चौरीदेउरालीका नागरिकलाई पालिकासम्म धाउन पर्ने बाध्यताबाट मुक्ति दिनुका साथै उनीहरूको समय तथा श्रम बचत गर्ने विश्वास गरिएको छ । पालिकाका अन्य सेवालाई पनि प्रभावकारी र सहज बनाउने प्रतिबद्धता सहित अध्यक्ष चौँलागाईले गाउँपालिकाले उपत्यकामा रहेका आफ्ना नागरिकलाई यो अवसरको लाभ उठाउन अनुरोध गरेकी छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा