काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को आसन्न ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा १० हजार स्वयंसेवक परिचालन हुने भएका छन् ।
एमालेको ११औँ महाधिवेशनको उद्घाटन यही मङ्सिर २७ गते भक्तपुरको सल्लाघारीस्थित खुल्लाचौरमा र बन्दसत्र काठमाडौँको भृकुटीमण्डपमा हुने तय भएको छ ।
पार्टीको महाधिवेशनका लागि गठित स्वयंसेवक परिचालन समितिका संयोजक भानुभक्त ढकालका अनुसार उद्घाटनको खुल्ला सत्रमा उल्लेख्य जनसहभागिता हुने भएकाले १० हजार स्वयंसेवक परिचालन गर्ने व्यवस्था गरिएको छ ।
संयोजक ढकालका अनुसार महाधिवेशनको बन्दसत्रमा करिब ५०० स्वयंसेवक हुनेछन् । ती स्वयंसेवक पार्टीका विभिन्न २४ जनसङ्गठन र विभिन्न कमिटीबाट माग गरिएको हो । एमालेले हालै गठन गरेको राष्ट्रिय स्वयंसेवक फोर्स (एनभिएफ)ले पनि स्वयंसेवाको समन्वय गर्नेछ ।
महाधिवेशनमा आयोजक र निर्वाचित गरी दुई हजार ४०० प्रतिनिधि रहनेछन् । महाधिवेशन यही मङ्सिर २७ देखि २९ गतेसम्म हुनेछ ।
प्रतिक्रिया