काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रौतहटमा चुनावी अभियानका क्रममा प्रयोग गरिएको सवारी साधनको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु भएको घटनालाई गम्भीरताका साथ लिएको जनाएको छ।
रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले शुक्रबार विज्ञप्ति जारी गर्दै रौतहट क्षेत्र नम्बर–२ का उम्मेदवार शेख सगिरले प्रयोग गर्ने गाडीको ठक्करबाट ४ वर्षीया अल्फा खातुनको मृत्यु भएको घटनाप्रति पार्टी स्तब्ध र मर्माहत भएको बताएका छन्।
विज्ञप्तिमा भनिएको छ, “चुनावी अभियानका क्रममा प्रयोग गरिएको सवारी साधनको ठक्करबाट एक नाबालिकाको असामयिक निधन भएको खबरले राष्ट्रिय स्वतन्त्र पार्टी अत्यन्तै दुःखी छ। यस शोकको घडीमा मृतक बालिकाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ। पार्टीले यस घटनालाई अत्यन्त गम्भीरताका साथ लिएको छ र वस्तुनिष्ठ छानबिनका लागि स्थानीय प्रशासनलाई पूर्ण सहयोग गर्न प्रतिबद्ध छ।”
महामन्त्री बुर्लाकोटीले कानुनी प्रक्रिया अगाडि बढाउन र पीडित परिवारलाई न्याय दिलाउन पार्टीले आवश्यक पहल गर्ने जानकारी दिएका छन्। साथै पीडित परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउन पहल भइरहेको पनि विज्ञप्तिमा उल्लेख छ।
उनले आगामी दिनमा उम्मेदवार तथा पार्टीका जिम्मेवार व्यक्तिहरूलाई सवारी साधनको प्रयोग र सञ्चालनमा उच्च सतर्कता अपनाउन तथा सुरक्षा संवेदनशीलतालाई प्राथमिकतामा राख्न निर्देशन दिइएको बताए।
उक्त दुर्घटना बिहीबार दिउँसो रौतहटको इशनाथ नगरपालिका–४, मठिया टोलमा भएको थियो। रास्वपा उम्मेदवार शेख सगिरको नाममा रहेको गाडीले ४ वर्षीया बालिकालाई ठक्कर दिएको थियो। दुर्घटनाका समयमा आफू गाडीमा सवार नरहेको उम्मेदवार सगिरले बताएका छन्।
दुर्घटनापछि घाइते बालिकालाई सोही गाडीमा गौर सिटी अस्पताल पुर्याइएको थियो, जहाँ उपचारका क्रममा उनको मृत्यु भएको थियो। दुर्घटनापछि फरार भएका चालक परोहा नगरपालिका निवासी २७ वर्षीय शेख मुस्ताखलाई प्रहरीले सोही दिन नियन्त्रणमा लिइसकेको छ।
प्रतिक्रिया