+
Search

ताजा अपडेट +

पपुलर +

पहाडी जिल्लाका मतदाता फकाउन तराई झरे उम्मेदवार

शब्द-यात्रा
२०८२ माघ २४, शनिबार

लुम्बिनी प्रदेशका पहाडी जिल्लाका उम्मेदवारहरू मतदाता फकाउन तराईका जिल्ला झर्न थालेका छन् ।

फागुन २१ गतेको आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको चहलपहल बढ्दै जाँदा मतदातासँग भेटघाट र आफ्नो पक्षमा मतदाता फकाउन उम्मेदवारहरू तराईका जिल्ला केन्द्रित हुन थालेका हुन्।

लुम्बिनी प्रदेशका पहाडी जिल्लाका गुल्मी, पाल्पा, अर्घाखाँची र प्युठानका उम्मेदवार मतदातासँग भेटघाट र आफ्नो पक्षमा मतदाता फकाउन तराईका जिल्ला रूपन्देही र कपिलवस्तु केन्द्रित हुन थालेका छन् । उनीहरूले तराईका जिल्लामा आ–आफ्ना पार्टीका भेला, बैठक र मतदातासँग प्रत्यक्ष भेटेरै मतदाता रिझाउने कार्यक्रम थालेका छन्।

प्रदेशका १२ जिल्लामध्ये एउटा हिमाली जिल्ला पूर्वी रुकुम र अन्य पाँच पहाडी जिल्ला पर्दछन्। पहाडी जिल्लाका धेरै मतदाता बसाइ सरेर रूपन्देही, कपिलवस्तु र काठमाडौँलगायत जिल्लामा आएका छन्। तर उनीहरूले मतदाता नामावली भने स्थानान्तरण नगरिसकेकाले निर्वाचनका समयमा उम्मेदवार मत माग्न यी जिल्लामा पुग्ने गरेका छन्।

गुल्मी क्षेत्र न १ बाट नेकपा एमालेका उम्मेदवार प्रदीपकुमार ज्ञवाली, नेपाली कांग्रेसका उम्मेदवार चन्द्र भण्डारी, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सागर ढकाल र नेपाली कम्युनिष्ट पार्टीबाट शुदर्शन बराललगायत १० राजनीतिक दलहरूसँगै ११ जना स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

यस क्षेत्रमा एक लाख २२ हजार १८६ मतदाता रहेका छन् । उम्मेदवारहरूले बुटवल र भैरहवामा कार्यकर्ता भेला तथा बैठक गरेर फागुन २१ को निर्वाचनमा मतदान गर्न जिल्ला फर्कन आह्वान गरेका छन् ।

नेकपा एमालेको तर्फबाट यस क्षेत्रमा उम्मेदवार बनेका ज्ञवालीले जिल्ला बाहिरका मतदातालाई निर्वाचनमा मतदानका लागि आउने वातावरण बनाउन अन्य जिल्लामा पुगेर भेटघाट, भेला, छलफलजस्ता कार्यक्रमलाई प्राथमिकता दिइएको बताए।

तर यसवर्ष जेनजी आन्दोलनपछिको विशेष परिस्थितमा फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचनको घोषणा हुँदा उम्मेदवारलाई मतदाता खोज्न सकस परेको छ।

नेपाली कांग्रेसका उम्मेदवार विष्णुप्रसाद खनाल जिल्लामा मात्र केन्द्रित रहेर सबै मतदातासँग पुग्न नसकिने बताउँछन्। उनी आफ्ना चुनावी मुद्दा लिएर जिल्ला बाहिरका मतदातासँग पुग्ने क्रममा रहेको यसैअन्तर्गत पहिलो चरणमा बुटवलमा कार्यक्रम सम्पन्न गरेको बताउँछन्।

उनले पोखरा, काठमाडौं, रूपन्देही र कपिलवस्तुलगायत क्षेत्रमा धेरै मतदाता रहेकाले तिनलाई निर्वाचनमा मतदानका लागि आउने वातावरण निर्माण गर्नुपर्ने बाध्यता रहेको उल्लेख गरे।

निर्वाचन आयोगले जिल्ला बाहिर रहेका यस्ता मतदातालाई मतदानमा सहभागी हुन उत्प्रेरित गर्न निर्वाचन शिक्षा कार्यक्रम सञ्चालन गरिरहेको प्रदेश निर्वाचन कार्यालय, दाङका सूचना अधिकारी गेहेन्द्र कुँवर बताउँछन्।

उनी मतदाता केन्द्रित निर्वाचन शिक्षा कार्यक्रम निर्वाचन आयोगले विभिन्न सञ्चार माध्यमबाट प्रकाशन र प्रसारण गर्ने काम हुँदै आएको यसका साथै राजनीतिक दलहरूले यस्ता कार्यक्रम गरिरहेको बताउँछन्।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा