+
Search

ताजा अपडेट +

पपुलर +

आजदेखि संघीय संसदकाे बर्खे अधिवेशन सुरु

शब्द-यात्रा
२०८३ बैशाख २८, सोमबार

आजदेखि संघीय संसदकाे बजेट (बर्खे) अधिवेशन सुरु हुँदैछ । दिउँसाे ४ बजे संघीय संसद्को संयुक्त बैठक आव्हान गरिएकाे छ भने बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्ने तयारी रहेकाे छ ।

संघीय संसद्का महासचिव पद्यप्रसाद पाण्डेकाअनुसार आजकाे संयुक्त बैठककाे कार्यसूची अनुसार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९५ बमोजिम सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । बैठकका लागि सदस्यहरुलाई पाैने ४ बजेभन्दा अगाडि नै प्रतिनिधिसभा कक्ष (बहुउद्देश्यीय कक्ष), सिंहदरबारमा उपस्थित हुन आग्रह गरिएको छ ।

संविधानको धारा ९५ मा प्रतिनिधिसभाको निर्वाचन भएपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि राष्ट्रपतिले दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने प्रावधान रहेकाे छ । आजकाे बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी पत्रबारे जानकारी दिने, मन्त्रिपरिषद्को हेरफेरसम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त सूचनाबारे सदनलाई अवगत गराउने सम्भावित कार्यसूची छ ।

बैठकमा सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन, प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २६० बमोजिम जारी भएको बाधा अड्काउ फुकाउ अनुमोदनका लागि पेस हुने, प्रतिनिधिसभा नियमावलीको मस्यौदा पेस हुनेलगायत कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ । त्यस्तै सरकारबाट यसअघि जारी आठ अध्यादेश पेस गर्ने कार्यसूची रहेको छ भने राष्ट्रियसभाको बैठकमा पनि ती अध्यादेशहरु पेस हुने बताइएकाे छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा