श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को राजीनामा माग गरेका छन् । प्रधानमन्त्री शाहले आफ्नो कर्तव्य पूरा नगरेकाे भन्दै साम्पाङले नैतिकताकाे आधारमा राजीनामा दिनुपर्ने बताएका हुन् ।
बालेनलाई प्रधानमन्त्रीको पदमा बस्ने नैतिकता नभएको भन्दै अध्यक्ष साम्पाङले आज एक विज्ञप्ति जारी गर्दै बालेनले पदबाट राजीनामा दिनुपर्ने चारवटा कारण उल्लेख गरेका छन् । जसमा राष्ट्रपति रामचन्द्र पौडेललाई आफ्नो नीति कार्यक्रम पढ्न लगाएर आफू संसद्बाट बाहिरिएको, नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी नभएको, प्रतिपक्षी दलले संसद्मा उपस्थितिको माग गर्दा पनि उपस्थित नभएको, नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जबाफ नदिएको जस्ता कारण उल्लेख गरिएकाे छ ।
त्यसैगरि अध्यक्ष साम्पाङले संसद्बाट अहिलेसम्म जनतालाई सम्बोधन नगरेको, लोकतन्त्रप्रतिको विश्वासलाई लत्याएको, संसद्लाई छलेर अध्यादेशको बाटो समाएको जस्ता कारण प्रधानमन्त्री बालेनको राजीनामा मागेका हुन् ।
साम्पाङले प्रश्न गरेका छन्,‘जनताको सार्वभौम सदनलाई अपमान गरेर त्यही संसद्बाट चुनिएको प्रधानमन्त्रीले कुन नैतिकताका आधारमा आफूलाई प्रधानमन्त्री ठानिरहेको छ ?’ ‘आफ्नो धरातल बिर्सेर जनताका प्रश्नहरूको उत्तर दिन नसक्ने लुकेर बस्ने के प्रवृत्ति हो ?’
प्रतिक्रिया