आज प्रधानन्यायाधीशमा सिफारिस सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्माको संसदीय सुनुवाइ हुँदैछ । यसअघि संवैधानिक परिषद्ले चाैथाे वरियताका न्यायाधीश डा. शर्माकाे नाम प्रधानन्यायाधीशमा सिफारिस गरेकाे थिाये ।
संसदीय सुनुवाइ समितिका सभापति बोधनारायण श्रेष्ठले न्यायालयमा अन्योल बढेकाले शीघ्र सुनुवाइ हुन लागेको बताएका छन् । ‘प्रधानन्यायाधीशको नियुक्तिलाई लिएर न्यायालयमा अन्योल बढेको देखियो । हामीबाट सुनुवाइमा ढिलाइ हुँदा देश नै अप्ठ्यारो ठाउँमा नजाओस् भन्ने निष्कर्षमा पुगेर प्रक्रियाबाटै शीघ्र सुनुवाइ गर्ने निर्णयमा पुगेका छौँ,’ उनले भने ।
सभापति श्रेष्ठले आज बिहान ८ बजे शर्माविरुद्ध परेका उजुरी खोलेर सांसदहरूलाई वितरण गरिनुका साथै पाैने १० बजे उजुरीकर्तासँग छलफल गरिने बताएका छन् । ‘उजुरीकर्तासँग कति समय लाग्छ, त्यसपछि सुनवाइ हुन्छ,’ उनले भने, ‘अनुमोदन हुने वा नहुने जे भए पनि समिति निर्णयमा पुग्ने छ ।’
प्रधानन्यायाधीशमा सिफारिस डा.शर्माविरुद्ध संसदीय सुनुवाइ समितिमा १६ वटा उजुरी परेका छन् । २५ वैशाखमा १० दिनको समय दिएर उजुरी आह्वान गरिएकोमा उक्त समयभित्र १६ उजुरी परेकाे हाे ।
समितिले शर्माको कार्यकुशलता, कार्यदक्षता, कार्यसम्पादन, आचरणसँग जोडिएका विषयमा जेठ ४ गतेसम्म उजुरी आह्वान गरेको थियो । संवैधानिक परिषद्ले वैशाख २४ गते शर्मालाई प्रधानन्यायाधीश पदमा सिफारिस गरेको थियो । संसदीय सुनुवाइपछि अनुमादेन भए राष्ट्रपतिले शर्मालाई प्रधानन्यायाधीश नियुक्त गर्नेछन् ।
प्रतिक्रिया