+
Search

ताजा अपडेट +

पपुलर +

राप्रपा त्यागेर धवलशमशेरले घोषणा गरे नयाँ अभियान

शब्द-यात्रा
२०८३ जेठ १७, आइतबार

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता एवं निवर्तमान महामन्त्री डा. धवलशमशेर राणाले पार्टीको वर्तमान कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै नयाँ राजनीतिक अभियानको घोषणा गरेका छन्।

आइतबार दिउँसो काठमाडौंको एक होटलमा राप्रपाका असन्तुष्ट नेताहरूसँगको सघन छलफलपछि नेता राणाले एक विज्ञप्ति जारी गर्दै नयाँ अभियानको घोषणा गरेका हुन्।

विज्ञप्तिमा उनले राप्रपाको आफ्नो पदीय हैसियतबारे स्पष्ट रूपमा राजीनामाको शब्द प्रयोग नगरे पनि पार्टीको वर्तमान नेतृत्व र बाटोबाट आफूहरू अलग भएको बताएका छन्। देशमा एक विश्वसनीय र बलियो राष्ट्रवादी शक्ति निर्माण गर्ने सदिच्छासहित आफूहरूले आगामी बाटो तय गरेको उनले उल्लेख गरेका छन्।

विगत चार वर्षदेखि राप्रपालाई जनभावनाअनुकूल अघि बढाउने प्रयास गरे पनि नेतृत्वको सैद्धान्तिक द्विविधाका कारण त्यो सम्भव नभएको उनको स्वीकारोक्ति छ।

नेता राणाले देशलाई माया गर्ने, मुलुकको समृद्धि चाहने आम राष्ट्रवादी नागरिक एवं नवयुवा पुस्तालाई समेत आफ्नो नयाँ अभियानमा जोडिन अपिल गरेका छन्। राप्रपाभित्र लामो समयदेखि चुलिएको आन्तरिक विवाद र मतभेदकै बीच धवलशमशेरको यो कदम आएपछि राप्रपाको राजनीतिमा नयाँ तरंग पैदा भएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा