कर्णाली प्रदेश सरकारले स्थानीय तह तथा जिल्ला समन्वय समितिका जनप्रतिनिधिहरूसँग अन्तरसरकार सम्बन्धका सवालमा छलफल गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश कार्यक्रम सहयोग एकाइद्वारा आज सुर्खेतमा वीरेन्द्रनगरमा आयोजित ‘जिसस महासङ्घ, नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घहरूसँग अन्तरसरकार सम्बन्धका सवालमा समन्वय बैठक’मा छलफल गरिएको हो ।
उक्त छलफलमा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले समान बुझाइका आधारमा अगाडि बढ्ने प्रयास, चासो, सहयोगका लागि समन्वय तथा सहकार्य गर्ने उद्देश्य राखेर तीन तहका महासङ्घसँगका पदाधिकारी तथा सदस्यहरूसँग सुझाव लिन छलफल गरिएको बताए ।
छलफलमा जिल्ला समन्वय समितिलाई कामयावी बनाउनुपर्ने, सदस्यहरूको सेवासुविधा हेरफेर गर्नुपर्ने, स्थानीय तहको राजस्व सङ्कलन र बाँडफाँट, स्थानीय तहमा भइरहेको नदीजन्य पदार्थको उत्खनन, सङ्कलन तथा निकासीका लागि निर्माण गर्नुपर्ने कानुन, प्रदेशबाट सञ्चालित योजनाहरूको कार्यान्वयन तथा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३।०८४को नीति तथा कार्यक्रमले तय गर्ने बजेट र योजनाका बारेमा छलफल भएको थियो ।
प्रतिक्रिया