+
Search

ताजा अपडेट +

पपुलर +

टी- २० विश्वकप: नेपालको ऐतिहासिक जित, स्कटल्याण्ड ७ विकेटले पराजित

शब्द-यात्रा
२०८२ फागुन ५, मंगलबार

काठमाडौँ । आईसीसी टी–२० विश्वकपमा नेपालले १२ वर्षपछि ऐतिहासिक जित हासिल गरेको छ। अन्तिम समूह चरणको खेलमा नेपालले स्कटल्याण्डलाई ७ विकेटले पराजित गर्दै प्रतियोगिताको सुखद अन्त्य गरेको हो।

नेपालले सन् २०१४ को विश्वकपमा हङकङ र अफगानिस्तानलाई हराएपछि पहिलो पटक विश्वकपमा जित निकालेको हो। त्यसपछि लामो समय विश्वकपबाट बाहिर रहेको नेपालले पछिल्लो संस्करणमा सहभागिता जनाए पनि जितविहीन बनेको थियो।

यस पटक पनि लगातार तीन खेलमा हार व्यहोरेको नेपालले अन्तिम खेलमा उत्कृष्ट प्रदर्शन गर्दै जितविहीन रहने स्थिति टारेको छ। साथै, यो जितसँगै विश्वकपमा नेपालको लगातार हारको श्रृंखला पनि अन्त्य भएको छ।

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७० रन बनाएको थियो। नेपालले उक्त लक्ष्य ४ बल बाँकी रहँदा ३ विकेट गुमाएर पूरा गर्‍यो।

नेपालको जितमा दीपेन्द्रसिंह ऐरीले आक्रामक अर्धशतक बनाउँदै २३ बलमा ५० रन जोडे। उनले ४ चौका र ३ छक्का प्रहार गरे। उनलाई गुल्शन झाले २४ रन बनाउँदै साथ दिए। यी दुईबीच चौथो विकेटका लागि ७३ रनको अविजित साझेदारी बनेको थियो।

त्यसअघि कुशल भुर्तेलले ४३ रन र आसिफ शेखले ३३ रनको योगदान दिएका थिए भने कप्तान रोहित पौडेलले १६ रन बनाए।

स्कटल्याण्डका लागि माइकल लिस्कले ३ विकेट लिए पनि टोलीलाई जित दिलाउन पर्याप्त भएन।

यसअघि स्कटल्याण्डका लागि माइकल जोन्सले ७१ रनको उत्कृष्ट इनिङ खेलेका थिए। जर्ज मुन्सीले २७ रन बनाउँदा दुवैबीच पहिलो विकेटका लागि ८० रनको साझेदारी भएको थियो। ब्रान्डन म्याकमुलनले २५ र कप्तान रिची बेरिङटनले १० रन जोडेका थिए।

नेपालका लागि सोमपाल कामीले ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए। नन्दन यादवले २ विकेट लिए भने रोहित पौडेल र कुशल भुर्तेलले समान १–१ विकेट लिए।

यो जितसँगै समूह ‘सी’ मा नेपालसहित सबै टोलीले कम्तिमा एक–एक जित निकाल्दै प्रतियोगिता समाप्त गरेका छन्। नेपाली समर्थकका लागि अन्तिम खेलको जितले विशेष खुशी थपेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा