हाल भारत विश्वकै सबैभन्दा बढी सामाजिक सञ्जाल प्रयोगकर्ता भएका देशमध्ये एक हो ।
सन् २०२५ को जनवरीसम्मको एक आकडाअनुसार भारतमा ४९१ मिलियन सामाजिक सञ्जाल प्रयोगकर्ताहरू छन् । जुन कूल जनसंख्याको ३३.७ प्रतिशत हो । भारत चीनपछि दोस्रो ठूलो सामाजिक सञ्जालको बजार रहेको छ ।
भारतले सन् २०३० सम्ममा करिब २० लाख सामाजिक सञ्जाल तथा कन्टेन्ट क्रिएसन विज्ञ आवश्यक पर्ने आकलन गरेको छ । यो यथार्थलाई स्वीकार्दै भारतले सन् २०२६ को बजेटमा युवाका लागि एउटा महत्त्वाकांक्षी घोषणा गर्दै विद्यालय तहदेखि डिजिटल साक्षरताबारे तालिम दिइने योजना अघि सारेको छ ।
डिजिटल क्षेत्रमा युवाहरूको प्रतिभा विकासका लागि भारतले २५० करोड भारतीय रुपैयाँ विनियोजन गरेको छ । यस बजेटको परिचालनमार्फत सरकारले भारतीय युवाहरूलाई सामग्री निर्माणकर्ता नेताका रूपमा प्रवर्द्धन गर्ने बताइएको छ ।
भारत सरकारको यस नयाँ योजनाले स्थानीय सामग्रीलाई विश्वव्यापी मञ्च प्रदान गर्ने र ठूला ब्राण्डसँग सहकार्यको ढोका खोल्ने अवसरका रूपमा विश्वास लिइएको छ । जसलाई आगामी दिनमा युवालाई घरमै बसेर काम गर्ने अवसर बढाउने कोशेढुङ्गाका रूपमा लिइएको छ ।
बजेटमा घोषित योजनाअनुसार भारतले १५ हजार माध्यमिक विद्यालय र ५०० कलेजमा अत्याधुनिक सुविधासहितको ‘कन्टेन्ट क्रिएटर ल्याब’ स्थापना गरिने उल्लेख छ । मुम्बईस्थित इन्डियन इन्स्टिच्युट अफ क्रिएटिभ टेक्नोलोजीलाई यसको जिम्मेवारी दिइएको छ । यस इन्स्टिच्युटले प्रयोगशालामार्फत विद्यार्थीलाई डिजिटल मिडियासँग सम्बन्धित सीपको व्यावहारिक तालिम दिने छ ।
ती विद्यालय र स्कुलहरूमा स्थापना गरिने ल्याबमा जोडिने विद्यार्थीले आधुनिक सफ्टवेयरको प्रयोग गरी उच्च गुणस्तरको अडियो–भिडियो उत्पादन, रिल्स उत्पादन, भिडियो सम्पादन, पोडकास्टिङ, ग्राफिक डिजाइन र पटकथा लेखन, प्रभावकारी प्रस्तुति, कथावाचनको कला, डाटा एनालिटिक्सअन्तर्गत दर्शकको चाहना, ट्रेन्ड र एल्गोरिदम बुझ्ने तरिकाका साथै, डिजिटल मार्केटिङ र मुद्रीकरणअन्तर्गत आफ्ना सामग्रीबाट आम्दानी गर्ने ज्ञान एवं डिजिटल नियम र आचारसंहिताअन्तर्गत कपिराइट, भ्रामक समाचार र अनलाइन शिष्टाचारबारे जानकारी प्राप्त गर्नेछन् । जसका लागि सरकारले प्रत्यक्ष वित्तीय सहयोग उपलब्ध गराउनेछ ।
यसरी भारतले डिजिटल युगमा सामाजिक सञ्जाललाई केवल मनोरञ्जनको साधन मात्र नभई रोजगारी सिर्जनाको एउटा बलियो माध्यमका रूपमा विकास गर्ने लक्ष्य लिएको छ । यस योजनाबाट ग्रामीण र शहरी क्षेत्रका युवाहरूले समान अवसरमार्फत आफ्नो प्रतिभा प्रष्फुटन गर्न सक्षम हुने छन् । जसले विश्वबजारमा भारतको सौम्य शक्तिलाई थप सशक्त बनाउने छ ।
प्रतिक्रिया