+
Search

ताजा अपडेट +

पपुलर +

समतामूलक, व्यवहारिक र भविष्यउन्मुख शिक्षा: आजको आवश्यकता

डा. जीवराज आचार्य 
२०८३ जेठ २१, बिहीबार
शिक्षा कुनै पनि राष्ट्रको विकास, सभ्यता र भविष्य निर्माणको मूल आधार हो । समाजलाई सचेत, जिम्मेवार, नैतिकवान र सक्षम नागरिक प्रदान गर्ने सबैभन्दा प्रभावकारी माध्यम पनि शिक्षा नै हो ।
नेपालको सन्दर्भमा शिक्षा केवल विद्यालयको पाठ्यक्रम वा परीक्षा प्रणालीमा सीमित विषय होइन । यो सामाजिक रूपान्तरण, आर्थिक समृद्धि, लोकतान्त्रिक चेतना, सांस्कृतिक संरक्षण तथा राष्ट्रिय एकताको प्रमुख साधन पनि हो ।
नेपालले पछिल्ला दशकहरूमा विद्यालय पहुँच, साक्षरता दर बृद्धि, महिला शिक्षामा सहभागिता तथा उच्च शिक्षाको विस्तारमा उल्लेखनीय प्रगति गरेको छ । तर शिक्षा प्रणाली भने अझै धेरै चुनौतीहरूले घेरिएको छ । शिक्षामा असमान पहुँच, सैद्धान्तिक र परीक्षामुखी पद्धति, बेरोजगारी बढाउने अनुपयोगी शिक्षा, नैतिक तथा मानवीय मूल्यको कमजोर अवस्था, प्रविधिसँग तालमेल हुन नसक्नु, ग्रामीण–शहरी विभाजन, तथा निजी र  सामुदायिक विद्यालयबीचको असन्तुलन जस्ता समस्या गम्भीर प्रकृतिका छन् ।
आजको विश्व तीव्र गतिमा परिवर्तन भइरहेको छ । कृत्रिम वैद्धिकता, डिजिटल प्रविधि, विश्वव्यापी प्रतिस्पर्धा, वातावरणीय संकट तथा बदलिँदो श्रमबजारका कारण शिक्षाले नयाँ स्वरूप ग्रहण गर्नुपर्ने आवश्यकता छ । यस्तो अवस्थामा नेपालले कस्तो शिक्षा प्रणाली अपनाउने भन्ने प्रश्न अत्यन्त महत्त्वपूर्ण बनेको छ । नेपालले अब यस्तो शिक्षा प्रणाली निर्माण गर्नुपर्छ, जुन समतामूलक, व्यावहारिक, मानवीय, भविष्य–उन्मुख तथा मूल्यमा आधारित होस् ।
समतामूलक शिक्षाः सबैका लागि समान अवसर
समतामूलक शिक्षा भन्नाले प्रत्येक बालबालिकाले आफ्नो आर्थिक अवस्था, जात, भाषा, लिंग, भौगोलिक क्षेत्र वा शारीरिक अवस्थाका कारण शिक्षा प्राप्तिबाट बञ्चित नहुने व्यवस्था बुझिन्छ । नेपालको संविधानले शिक्षा प्रत्येक नागरिकको मौलिक अधिकारका रूपमा सुनिश्चित गरेको भए पनि व्यवहारमा अझै ठूलो असमानता देखिन्छ । ग्रामीण क्षेत्रका विद्यालयहरूमा शिक्षक अभाव, प्रयोगशाला र पुस्तकालयको कमी, प्रविधिको सीमित पहुँच तथा कमजोर पूर्वाधार प्रमुख र साझा समस्या बनेका छन् ।
समतामूलक शिक्षा निर्माणका लागि सरकारले ग्रामीण तथा दुर्गम विद्यालयमा पर्याप्त लगानी गर्नुपर्छ । साथै, प्रशिक्षित शिक्षकहरूको समान वितरण सुनिश्चित गरी प्रत्येक विद्यालयमा गुणस्तरीय शिक्षणको वातावरण सिर्जना गर्न आवश्यक छ । प्रारम्भिक तहमा स्थानीय भाषा तथा मातृभाषामा शिक्षा प्रदान गरिनु बालबालिकाको सिकाइ क्षमताका लागि अत्यन्त प्रभावकारी मानिन्छ । आर्थिक रूपमा कमजोर, विपन्न तथा अपाङ्गता भएका विद्यार्थीहरूलाई छात्रवृत्ति, सहायक सामग्री तथा विशेष सहयोगमार्फत शिक्षामा समान पहुँच उपलब्ध गराउनुपर्छ ।
व्याहारिक शिक्षाः जीवन र सीपसँग जोडिएको सिकाइ
नेपालको वर्तमान शिक्षा प्रणालीको मुख्य कमजोरीमध्येको एउटा अत्यधिक सैद्धान्तिकता हो । विद्यार्थीहरूले वर्षौँसम्म पाठ्यपुस्तक कण्ठ गर्छन् परीक्षा दिन्छन् र प्रमाणपत्र प्राप्त गर्छन् तर व्यावहारिक जीवनका लागि आवश्यक सीप हासिल गर्न सक्दैनन् । फलस्वरूप शिक्षित बेरोजगारी बढिरहेको छ । आजको शिक्षाले त “के थाहा छ ?” भन्नेभन्दा पनि “के गर्न सक्छ ?” भन्ने प्रश्नको उत्तर दिन सक्नुपर्छ ।
विद्यालय तथा कलेज तहमा परियोजनामा आधारित सिकाइ, प्रयोगशाला तथा अनुसन्धानमुखी अभ्यास, कृषि, प्रविधि, उद्यमशीलता, वित्तीय साक्षरता तथा जीवनोपयोगी सीपलाई पाठ्यक्रमसँग जोड्नुपर्छ । साथै, स्थानीय स्रोत र समुदायसँग सम्बन्धित शिक्षण पद्धति, इन्टर्नसिप तथा कार्यअनुभव र समस्या समाधानमा सिर्जनात्मक क्षमताको विकासलाई प्राथमिकता दिन आवश्यक छ । यस प्रकारको शिक्षाले विद्यार्थीलाई केवल परीक्षामा सफल बनाउने होइन, वास्तविक जीवनका चुनौती सामना गर्न सक्षम बनाउँछ ।
मानवीय शिक्षाः संवेदनशील र जिम्मेवार नागरिक निर्माण
शिक्षाको उद्देश्य केवल डाक्टर, इन्जिनियर वा कर्मचारी उत्पादन गर्नु मात्र नभएर असल मानिस निर्माण गर्नु पनि हो । आज विश्वभर प्रविधिको तीव्र विकास भइरहेका बेला मानवीय संवेदना, सहिष्णुता, अनुशासन र नैतिकता कमजोर हुँदै गएको चिन्ता बढ्दो छ । नेपालको शिक्षा प्रणालीमा अंक, परीक्षा र प्रतिस्पर्धालाई अत्यधिक महत्त्व दिइएको छ, जसका कारण विद्यार्थीहरूमा तनाव, डर तथा अस्वस्थ प्रतिस्पर्धाको भावना बढिरहेको छ ।
मानवीय शिक्षा विकासका लागि विद्यालयहरूलाई केवल पढाइ केन्द्रका रूपमा होइन, जीवन सिक्ने समुदायका रूपमा विकास गर्न आवश्यक छ । यसका लागि विद्यालयमा मनोसामाजिक परामर्श सेवा, विद्यार्थीमैत्री वातावरण, कला, संगीत, खेलकुद तथा सिर्जनात्मक गतिविधिहरूलाई विशेष महत्व दिनुपर्छ । साथै, सहकार्य, नेतृत्व क्षमता, सामाजिक उत्तरदायित्व, भावनात्मक बुद्धिमत्ता तथा समावेशी र सम्मानपूर्ण व्यवहारलाई विद्यालय संस्कृतिको अभिन्न अंग बनाउनुपर्छ ।
बहुविषयगत सिकाइ
भविष्यका चुनौती र समस्याहरू केवल एउटै विषयको ज्ञानबाट समाधान गर्न सम्भव हुँदैन । आजको विश्वमा विज्ञान, प्रविधि, समाजशास्त्र, वातावरण, अर्थतन्त्र तथा मानविकी एकअर्कासँग गहिरो रूपमा सम्बन्धित छन् । त्यसैले शिक्षाले विद्यार्थीमा विभिन्न विषयबीचको अन्तरसम्बन्ध बुझ्ने क्षमता विकास गर्नुपर्छ ।
बहुविषयगत सिकाइले विद्यार्थीलाई कुनै समस्यालाई फराकिलो दृष्टिकोणबाट हेर्न, विश्लेषण गर्न तथा सिर्जनात्मक समाधान खोज्न सक्षम बनाउँछ । उदाहरणका लागि, जलवायु परिवर्तनको समस्या बुझ्न विज्ञान मात्र पर्याप्त हुँदैन । त्यससँग सम्बन्धित सामाजिक प्रभाव, आर्थिक पक्ष, प्रविधिको भूमिका तथा मानव व्यवहार पनि बुझ्न आवश्यक हुन्छ ।
वातावरणीय चेतना
जलवायु परिवर्तन आज विश्वकै गम्भीर चुनौतीका रूपमा देखा परेको छ । वातावरणीय असन्तुलन, प्राकृतिक विपत्ति, वन विनाश, प्रदूषण तथा स्रोतहरूको अत्यधिक दोहनले मानव जीवन र भविष्यलाई प्रत्यक्ष असर गरिरहेको छ । यस्तो अवस्थामा विद्यालय शिक्षाले विद्यार्थीमा वातावरण संरक्षण, दिगोपन तथा प्रकृतिप्रतिको जिम्मेवारीको भावना विकास गर्न विशेष भूमिका खेल्नुपर्छ ।
विद्यालय तहदेखि नै वातावरणीय शिक्षा, सरसफाइ, जैविक विविधता संरक्षण, जलस्रोतको उचित उपयोग, फोहोर व्यवस्थापन तथा हरित जीवनशैली सम्बन्धी व्यवहारिक ज्ञान समावेश गरिनुपर्छ । विद्यार्थीलाई केवल सैद्धान्तिक जानकारी दिने होइन, वृक्षारोपण, पुनःप्रयोग, ऊर्जा संरक्षण तथा वातावरणमैत्री गतिविधिमा प्रत्यक्ष सहभागी गराउनु आवश्यक छ ।
मूल्य आधारित शिक्षाः चरित्र र संस्कारको निर्माण
शिक्षा केवल ज्ञानको हस्तान्तरण गर्ने प्रक्रिया मात्र होइन । यो मूल्य, संस्कार र चरित्र निर्माण गर्ने माध्यम पनि हो । यदि शिक्षित व्यक्तिमा नैतिकता, जिम्मेवारी, अनुशासन र मानवता छैन भने त्यस्तो शिक्षा समाजका लागि उपयोगी नहुने मात्र होइन, कहिलेकाहीँ घातक पनि बन्न सक्छ । त्यसैले शिक्षाको उद्देश्य केवल दक्ष जनशक्ति उत्पादन गर्नु होइन, असल र जिम्मेवार नागरिक निर्माण गर्नु पनि हो ।
आज समाजमा बढ्दो हिंसा, भ्रष्टाचार, असहिष्णुता, सामाजिक विखण्डन तथा नैतिक पतनले मूल्यमा आधारित शिक्षाको आवश्यकता अझ टड्कारो बनाएको छ । मानिसहरू शिक्षित भए पनि सामाजिक उत्तरदायित्व, सहिष्णुता र नैतिक आचरणमा कमी देखिन थालेको छ । यस्तो अवस्थामा विद्यालय शिक्षाले विद्यार्थीमा सकारात्मक मूल्य र जीवनदृष्टि विकास गर्न विशेष भूमिका खेल्नुपर्छ ।
शिक्षक, अभिभावक र समुदायको भूमिका
शिक्षा सुधार केवल सरकारको जिम्मेवारी मात्र होइन । शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन तथा समुदाय सबैको साझा दायित्व हो । गुणस्तरीय र प्रभावकारी शिक्षा प्रणाली निर्माण गर्न यी सबै पक्षबीच समन्वय, साझा प्रतिबद्धता र सहकार्य आवश्यक हुन्छ । जब विद्यालय, परिवार र समुदाय एकअर्कासँग सहकार्य गरेर अघि बढ्छन् तब मात्र शिक्षाले वास्तविक रूपमा विद्यार्र्थीको समग्र विकास गर्न सक्छ ।
शिक्षक शिक्षाको केन्द्रबिन्दु हुन् । कुनै पनि शिक्षा प्रणालीको गुणस्तर त्यस देशका शिक्षकको दक्षता, प्रतिबद्धता र पेशागत क्षमतामा निर्भर हुन्छ । दक्ष, प्रेरित र जिम्मेवार शिक्षक बिना गुणस्तरीय शिक्षा सम्भव छैन । त्यसैले शिक्षक छनोट प्रक्रिया पारदर्शी र योग्यतामा आधारित हुनुपर्छ । साथै नियमित तालिम, पेशागत विकास, आधुनिक शिक्षण विधि तथा प्रविधि प्रयोग क्षमता विकासमा विशेष ध्यान दिन आवश्यक छ । शिक्षकलाई समाजमा सम्मानित र प्रेरित बनाउने वातावरण सिर्जना गर्नु पनि उत्तिकै महत्त्वपूर्ण छ ।
अभिभावक केवल विद्यालय शुल्क तिर्ने पक्ष मात्र होइनन् । उनीहरू विद्यार्थीको सिकाइ प्रक्रियाका महत्त्वपूर्ण साझेदार हुन् । बालबालिकाको व्यवहार, अनुशासन, अध्ययन बानी तथा भावनात्मक विकासमा परिवारको ठूलो प्रभाव हुन्छ । त्यसैले विद्यालय र घरबीच सकारात्मक सम्बन्ध तथा निरन्तर संवाद आवश्यक छ । अभिभावकले बालबालिकाको पढाइ, रुचि, व्यवहार र मानसिक अवस्थाप्रति संवेदनशील भई सहयोगी भूमिका निर्वाह गर्नुपर्छ ।
विद्यालय समुदायसँग जोडिएमा शिक्षा अझ जीवन्त, व्यवहारिक र प्रभावकारी बन्छ । स्थानीय स्रोत, संस्कृति, परम्परा, सीप तथा अनुभवलाई शिक्षासँग जोड्दा विद्यार्थीले आफ्नो समाज र परिवेशसँग प्रत्यक्ष सम्बन्ध स्थापित गर्न सक्छन् । समुदायको सक्रिय सहभागिताले विद्यालयप्रति अपनत्व र उत्तरदायित्वको भावना पनि बढाउँछ । स्थानीय तह, सामाजिक संस्था, व्यवसायिक क्षेत्र तथा समुदायका अनुभवी व्यक्तिहरूलाई विद्यालय गतिविधिमा सहभागी गराइ शिक्षालाई वास्तविक जीवनसँग जोड्न सकिन्छ ।
यसरी शिक्षक, अभिभावक र समुदायबीचको सहकार्यले मात्र विद्यार्थीको समग्र विकास सम्भव हुन्छ । शिक्षा तब सफल हुन्छ, जब विद्यालय केवल पढाइको केन्द्र नभई समाज परिवर्तनको साझा अभियान बन्छ ।
नीतिगत सुधार र कार्यान्वयन
नेपालमा शिक्षा सम्बन्धी नीति, योजना तथा आयोगहरूको कमी छैन । मुख्य समस्या तिनको प्रभावकारी कार्यान्वयनमा रहेको छ । विभिन्न समयमा शिक्षा सुधारका लागि अनेक नीति तथा कार्यक्रम ल्याइए पनि तिनले अपेक्षित परिणाम दिन सकेका छैनन् । सरकार परिवर्तनसँगै नीति परिवर्तन हुने प्रवृत्तिका कारण शिक्षा क्षेत्रमा दीर्घकालीन स्थायित्व र निरन्तरता कायम हुन सकेको छैन । फलस्वरूप, शिक्षा प्रणालीमा अन्योल, असन्तुलन तथा अस्थिरता देखिने गरेको छ ।
शिक्षा क्षेत्रलाई प्रभावकारी र दिगो बनाउन दीर्घकालीन राष्ट्रिय शिक्षा दृष्टिकोण आवश्यक छ । शिक्षालाई राजनीतिक प्रभावभन्दा माथि राखी राष्ट्रिय प्राथमिकताको विषयका रूपमा विकास गर्नुपर्छ । त्यसका लागि राजनीतिक हस्तक्षेपमुक्त शिक्षा प्रशासन, योग्यतामा आधारित नेतृत्व तथा पारदर्शी व्यवस्थापन प्रणाली आवश्यक हुन्छ । साथै, शिक्षा नीति निर्माण अनुसन्धान, तथ्याङ्क तथा वास्तविक आवश्यकतामा आधारित हुनुपर्छ, ताकि नीति व्यवहारिक र प्रभावकारी बन्न सकोस् ।
यससँगै, विद्यालय तथा शैक्षिक संस्थाको नियमित अनुगमन र मूल्याङ्कन प्रणालीलाई सुदृढ बनाउनुपर्छ । केवल योजना बनाउने होइन, तिनको कार्यान्वयन, प्रभाव तथा गुणस्तरको निरन्तर समीक्षा गर्न आवश्यक छ । संघीय संरचनाअनुसार स्थानीय सरकारको भूमिकालाई पनि प्रभावकारी बनाउँदै स्थानीय आवश्यकता र सन्दर्भअनुसार शिक्षा सञ्चालन गर्नुपर्छ ।
गुणस्तरीय शिक्षा निर्माणका लागि पर्याप्त बजेट लगानी अपरिहार्य छ । शिक्षामा गरिएको लगानी खर्च होइन, राष्ट्रको भविष्य निर्माणका लागि गरिएको दीर्घकालीन निवेश हो । विद्यालय पूर्वाधार, शिक्षक विकास, प्रविधि, अनुसन्धान तथा समावेशी शिक्षामा राज्यले पर्याप्त स्रोत विनियोजन गर्न आवश्यक छ ।
शिक्षा सुधार कुनै छोटो अवधिको कार्यक्रम होइन । यो निरन्तर चलिरहने प्रक्रिया हो । त्यसैले राजनीतिक दल, नीति निर्माता, शिक्षक, अभिभावक तथा नागरिक समाजबीच साझा प्रतिबद्धता, सहकार्य र दीर्घकालीन दृष्टिकोण आवश्यक हुन्छ ।
निष्कर्ष
नेपालले अब केवल प्रमाणपत्र उत्पादन गर्ने शिक्षा प्रणालीको अन्त्य गर्नुपर्दछ । देशलाई यस्तो शिक्षा आवश्यक छ, जसले प्रत्येक बालबालिकालाई समान अवसर प्रदान गरोस् । जीवनोपयोगी सीप विकास गरोस् । मानवीय संवेदना जगाओस् । भविष्यका चुनौतीसँग सामना गर्न सक्षम बनाओस् र नैतिक मूल्यमा आधारित जिम्मेवार नागरिक तयार गरोस् । समतामूलक, व्यावहारिक, मानवीय, भविष्य–उन्मुख तथा मूल्य–आधारित शिक्षा केवल शैक्षिक सुधारको विषय मात्र होइन । यो राष्ट्र निर्माणको आधार हो । यदि नेपालले शिक्षालाई सही दिशामा रूपान्तरण गर्न सक्यो भने आर्थिक समृद्धि, सामाजिक न्याय, लोकतान्त्रिक स्थिरता तथा राष्ट्रिय विकासको मार्ग स्वतः खुल्नेछ । अन्ततः शिक्षा केवल जीविकोपार्जनको साधन होइन । यो जीवन निर्माणको प्रक्रिया हो । त्यसैले नेपालको शिक्षा प्रणालीले “असफलताको डर” होइन, “सम्भावनाको विश्वास” सिकाउनुपर्छ । यही शिक्षा नै समृद्ध, सभ्य र आत्मनिर्भर नेपालको आधार बन्न सक्छ ।
[लेखक चैतन्य पाठशाला राप्ती उपत्यका दाङका प्रवन्ध निर्देशक हुनुहुन्छ]

प्रतिक्रिया

लेखकको बारेमा

डा. जीवराज आचार्य