काभ्रे जिल्लाको चौरीदेउराली गाउँपालिकाको साधारण परिवारमा जन्मिएका कमरेड बिपिन सापकोटा आज प्रवासमा संघर्ष, इमानदारी, संगठनप्रतिको समर्पण र उद्यमशीलताको परिचय बनेका छन् । गाउँबाट सुरु भएको उहाँको जीवनयात्रा काठमाडौं हुँदै संयुक्त अरब इमिरेट्स (यूएई) सम्म आइपुग्दा उहाँले राजनीतिक, सामाजिक र व्यवसायिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल हुनुभएको छ ।
बाल्यकालदेखि नै सामाजिक चेतना र नेतृत्व क्षमता भएका उहाँ युवाअवस्थामै नेकपा एमालेको विचार, सिद्धान्त र संगठनसँग जोडिनुभयो । काभ्रे जिल्लामा भातृ तथा जनसंगठन, गाउँ कमिटी, वडा कमिटी हुँदै पार्टी संगठन विस्तारका विभिन्न जिम्मेवारीमा सक्रिय रहँदै उहाँले जनताको बीचमा पार्टीको विचार र नीति पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । पार्टीप्रतिको निष्ठा, अनुशासन र सक्रियताका कारण उहाँ कार्यकर्तामाझ लोकप्रिय व्यक्तित्वका रूपमा स्थापित हुनुभयो ।
समयको परिवर्तनसँगै उहाँको परिवार काभ्रेबाट काठमाडौं क्षेत्र नं. ३, गोकर्णेश्वर नगरपालिका–५ मा बसाइँ सर्यो । काठमाडौं आएपछि पनि उहाँको राजनीतिक सक्रियता निरन्तर रह्यो । संगठन निर्माण, कार्यकर्ता परिचालन र सामाजिक गतिविधिमा उहाँ पहिलेझैँ सक्रिय रहनुभयो ।
राजनीतिक यात्रासँगै उहाँले आत्मनिर्भर बन्न विभिन्न व्यवसायहरू सञ्चालन गर्नुभयो । होटल व्यवसाय, रेस्टुरेन्ट सञ्चालन, दोहोरी साँझ सञ्चालन तथा गेस्ट हाउस व्यवस्थापनजस्ता क्षेत्रमा उहाँले मेहनतपूर्वक काम गर्नुभयो । व्यवसाय सञ्चालनका क्रममा प्राप्त अनुभवले उहाँलाई नेतृत्व, व्यवस्थापन र उद्यमशीलताको व्यवहारिक ज्ञान प्रदान गर्यो ।
तर जीवन सधैं सोचेजस्तो हुँदैन । पारिवारिक तथा आर्थिक परिस्थितिका कारण उहाँ २०७२ सालमा रोजगारीको सिलसिलामा संयुक्त अरब इमिरेट्स (यूएई) जान बाध्य हुनुभयो । विदेशको यात्रा सहज थिएन । प्रारम्भिक दिनहरूमा उहाँले ट्याक्सी चालकका रूपमा काम गर्नुभयो । त्यसपछि लिमोजिन चालकका रूपमा आफ्नो पेशागत यात्रा अगाडि बढाउनुभयो । कठिन परिश्रम, इमानदारी र दृढ आत्मविश्वासकै बलमा उहाँले आफूलाई स्थापित गर्दै लैजानुभयो।
विदेशमा रहँदा पनि उहाँले आफ्नो राजनीतिक र सामाजिक प्रतिबद्धतालाई कहिल्यै त्याग्नुभएन । नेपालमा जस्तै यूएईमा पनि नेपाली समुदायलाई संगठित गर्ने, सामाजिक एकता कायम गर्ने र नेकपा एमालेको संगठन विस्तारमा सक्रिय भूमिका निर्वाह गर्नुभयो । लामो समयसम्म प्रवासी नेपाली मञ्च मार्फत संगठन सुदृढीकरण, कार्यकर्ता परिचालन तथा नेपाली समुदायको हितका पक्षमा उहाँले उल्लेखनीय योगदान पुर्याउनुभयो ।
पछिल्लो राजनीतिक परिवेशमा संगठनात्मक परिवर्तनसँगै उहाँ हाल प्रवासी नेपाली एकता मञ्चका अध्यक्षका रूपमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहनुभएको छ । उहाँको नेतृत्वमा मञ्चले प्रवासमा रहेका नेपालीहरूबीच एकता, सहयोग, सामाजिक उत्तरदायित्व र मातृभूमिप्रतिको जिम्मेवारीलाई अझ सशक्त बनाउने प्रयास गरिरहेको छ ।
राजनीतिक तथा सामाजिक योगदानसँगै उहाँले व्यवसायिक क्षेत्रमा पनि उल्लेखनीय सफलता हासिल गर्नुभएको छ । उहाँद्वारा स्थापित HRBS Real Estate कम्पनी आज यूएईमा नेपाली समुदायमाझ विश्वासिलो नामका रूपमा परिचित बन्दै गएको छ । उहाँको व्यवस्थापनमा हाल आठवटा फ्ल्याट सञ्चालनमा रहेका छन्, जहाँ नेपालीहरूका लागि पार्टेसन, रुम स्पेस, बेड स्पेस तथा सुरक्षित र व्यवस्थित आवासीय सुविधा उपलब्ध गराइँदै आएको छ । विशेषगरी अबुधाबीको साबिया क्षेत्रमा नयाँ आउने नेपालीहरूलाई सहज बसोबासको व्यवस्था मिलाउन उहाँले महत्वपूर्ण योगदान दिँदै आउनुभएको छ ।
उहाँको जीवन केवल व्यक्तिगत सफलताको कथा होइन, संघर्षलाई अवसरमा बदल्न सकिन्छ भन्ने प्रेरणादायी उदाहरण पनि हो । गाउँको सामान्य परिवेशबाट सुरु भएको यात्रा काठमाडौं हुँदै यूएईसम्म पुग्दा उहाँले आफूलाई सफल व्यवसायी, सक्षम संगठक, समाजसेवी र नेतृत्वदायी व्यक्तित्वका रूपमा स्थापित गर्नुभएको छ ।
आज पनि उहाँ प्रवासमा रहेका नेपालीहरूको सुख–दुःखमा साथ दिँदै, सामाजिक उत्तरदायित्व निर्वाह गर्दै र मातृभूमिप्रतिको माया तथा समर्पणलाई कर्ममार्फत प्रमाणित गरिरहनुभएको छ । संघर्ष, इमानदारी, निरन्तर मेहनत र संगठनप्रतिको अटल विश्वासले मानिसलाई जुनसुकै उचाइमा पुर्याउन सक्छ भन्ने उदाहरण बिपिन सापकोटाको जीवनयात्राले स्पष्ट रूपमा प्रस्तुत गरेको छ ।
संघर्षको बाटोमा कहिल्यै नथाक्ने, संगठनको यात्रामा कहिल्यै नडगमगाउने र सफलताको शिखरसम्म पुगेर पनि समाजलाई नबिर्सने व्यक्तित्वका रूपमा सापकोटा धेरै नेपाली युवाका लागि प्रेरणाका स्रोत बनेका छन् ।
प्रतिक्रिया