काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहिबार सम्पन्न दोस्रो खेलमा पोखरा एभेन्जर्सले साविक च्याम्पियन जनकपुर बोल्ट्सलाई २५ रनले हराउँदै प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। यो पोखराको तेस्रो खेलमा आएको पहिलो विजय हो।
१५६ रनको लक्ष्य पछ्याउने क्रममा जनकपुर २० ओभरमा ९ विकेट गुमाई १३० रनमै समेटियो। जनकपुरतर्फ आठौँ नम्बरमा आएर आक्रमक ब्याटिङ गरेका वायन पर्नेलले ३८ बलमा २ चौका र ४ छक्काको मद्दतमा ५० रन बनाए पनि रिटायर्ड हर्ट हुनुपर्यो।
माज सदातले २० रन र सञ्जय कृष्णमूर्तिले २५ रनको योगदान दिए। बाँकी खेलाडीले उल्लेखनीय प्रदर्शन गर्न सकेनन्।
पोखराका बलर विपिन खत्री उत्कृष्ट रहे, जसले ४ विकेट हात पारे। सुमित वर्मा दुई विकेटसहित प्रभावशाली रहे भने कुशल भुर्तेल र जिमी निशमले एक–एक विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको थियो। टीमका लागि सुमित वर्माले अर्धशतकसहित ५० रन योगदान दिए। दिनेश खरेलले ३८ रन, एडम रोसिङ्गटनले २४ रन र त्रितराज दासले २९ रन जोड़े।
जनकपुरका सञ्जय कृष्णमूर्तिले ३ विकेट लिए भने ललित राजवंशी र अनिल शाहले एक–एक विकेट झारे।
प्रतिक्रिया