बाढि पहिरामा परि सङ्खुवासभाको मकालु गाउँपालिका–५, माङ्सिमास्थित फोक्टेमा २ सय बढी भेडा बेपत्ता भएकाे छ । पहिरोले भेडी गोठ पुरिँदा २ सय बढी भेडा बेपत्ता भएकाे हाे ।
जिल्ला प्रहरी कार्यालयका अनुसार पहिराले मकालु–५, का स्थानीय दलबहादुर गुरुङको भेडीगोठ बगाउँदा २१८ भेडा पुरिएर बेपत्ता भएको बताइएकाे छ । वर्षापछि फोक्टे क्षेत्रमा अचानक पहिरो आउँदा दलबहादुरका २५० भेडामध्ये २१८ भेडा पहिरोमा पुरिएर बेपत्ता भएकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले जानकारी दिएका छन् ।।
पहिरोमा पुरिएका ३२ भेडा मात्रै जीवित अवस्थामा फेला परेकाे थियाे भने बाढीमा परेर भेडा गोठालाको काम गर्दै आएका स्थानीय २० वर्षीय झलक गुरुङ घाइते भएका छन् । उनको हात र खुट्टामा चोट लागेको र अर्का गोठाला ३० वर्षीय कमल गुरुङ सकुशल रहेकाे पनि प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घटनास्थल दुर्गम क्षेत्रमा पर्ने भएकाले उद्धार तथा खोजी कार्यमा कठिनाइ भएको बताइएकाे छ । घटनास्थल नुम प्रहरी चौकीबाट करिब ४० किलोमिटर टाढा र करिब १० घण्टा पैदल दुरीमा पर्ने समेत प्रहरीले जनाएकाे छ । हाल प्रहरी र स्थानीयवासीले उघार तथा खोजी कार्य गरिरहेका छन् ।
प्रतिक्रिया