नवलपरासीमा भएकाे मोटरसाइकल दुर्घटनामा एक जनाकाे मृत्यु भएकाे छ भने तीन जना घाइते भएका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–१७, झरहीखोलास्थित पूर्वपश्चिम राजमार्गमा दुई मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएका हुन् ।
उक्त दुर्घटनामा परी सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–९, स्थायी घर भई हाल नेपाली सेनाको श्री नयाँ गोरख गण राष्ट्रिय निकुञ्ज कसरा चितवनमा कार्यरत सिपाही २६ वर्षीय दिनेश गिरीको मृत्यु भएको हो । नारायणगढबाट कावासोतीतर्फ आउँदै गरेको बाप्र ०२–०१६ प ९६१८ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको लुप्र ०१–०११ प ९९९१ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए ।
ठक्करपछि सडकमा पल्टिएको बा.प्र ०२–०१६ प ९६१८ नम्बरका मोटरसाइकलका चालक गिरीलाई पछाडिबाट आउँदै गरेको नम्बर नखुलेको ट्रकले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तपूर्व) का प्रहरी उपरीक्षक युवराज खड्काले जनाएका छन् । दुर्घटनामा गम्भीर चोट लागेका गिरीलाई उपचारका लागि देवचुली नगर अस्पताल दुम्कौली लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए ।
दुर्घटनामा लुप्र ०१–०११ प ९९९१ नम्बरको मोटरसाइकलका चालक रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१२, का ३४ वर्षीय रोहन पन्थी, सोही मोटरसाइकलमा पछाडि सवार रुपन्देहीको तिलोत्तमा नगरपालिका–१६, का २५ वर्षीय अमृत आचार्य र बाप्र ०२–०१६ प ९६१८ नम्बरको मोटरसाइकलमा पछाडि सवार रामेछापको मन्थली नगरपालिका–७, का २६ वर्षीय डम्बरबहादुर माझी घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते तीन जनामध्ये माझी नेपाली सेनाको श्री नयाँ गोरख गण राष्ट्रिय निकुञ्ज कसरा चितवनमा कार्यरत सिपाही रहेको प्रहरीले जानकारी दिएकाे छ ।
प्रतिक्रिया