संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्दै छ । आजकाे बैठकमा विनियोजन विधेयक, २०८३ का विभिन्न शीर्षकहरूमाथि छलफल जारी रहने कार्यसूची रहेकाे छ ।
बैठकमा विभिन्न मन्त्रालय तथा निकायहरूको बजेटमाथि एकीकृत रूपमा छलफल हुनुका साथै विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, रक्षा मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालयको बजेटमाथि छलफल हुने बताइएकाे छ ।
आजकाे बैठकमा सांसदहरूले मन्त्रालयहरूको खर्च रकम घटाउन खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछन् । गुरु प्रसाद बराल, रमेश कुमार मल्ल, विण्णु माया वि.क., ऐन बहादुर महर, पुष्प राज कँडेल र पद्मा कुमारी अर्यालले सम्बन्धित मन्त्रालयहरूको खर्च रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस् भनी प्रस्ताव राख्ने कार्यसूची रहेकाे छ ।
त्यस्तै मोहम्मद इस्तियाक राईले पूर्वाधार विकास मन्त्रालयको र परशुराम तामाङले अर्थ मन्त्रालयको खर्च रकममा घटाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्ने तयारी रहेकाे छ । बैठकको अन्त्यमा सभामुखले प्रतिनिधिसभाका पूर्व सदस्य मंगल प्रसाद गुप्ताको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।


प्रतिक्रिया